banner

अन्तर्वार्ता

जनताको सेवा गर्न पाउनु नै भाग्यको कुरा

संवाद
शम्भु कुमार केसी
वडा अध्यक्ष
चन्द्रागिरी नगरपलिका–७,
काठमाडौं

शम्भु कुमार केसी । जन्म २०२३ साल साउन ९ गते सोमबारका दिन बुबा कृष्णबहादुर केसी र आमा बालकुमारी केसीको कोखबाट जन्मिएका उनी समाजमा केही गर्नुपर्छ भन्ने भावना बालापनदेखि नै थियो । यसै शिल्सिलामा २०३६ सालमा विद्यार्थी कालमा नै राजनितिमा संलग्न भएका केसीसँग बहुदलीय जनसंग्रह, पञ्चायती, लोकतन्त्रिक हुँदै गणतन्त्रिक सरकार राजनितिको राम्रो अनुभव छ । हाल उनी नेपाली कांग्रेसबाट स्थानीय सरकारको चन्द्रागिरि नगरपालिका वडा नं. ७ का निर्वाचित वडा अध्यक्ष हुन् ।
विभिन्न समयमा हुने नगरसभा र केही विशेष कार्यक्रममा बाहेक उनी प्राय वडामै हुन्छन । बिहान १० बजेदेखि ५ बजेसम्म उनको ध्यान वडाको दैनिक प्रशासन हेर्ने, जनताको गुनासो सुन्ने, विकास निर्माणको अनुगमन गर्नमै समय बित्छ । यतिबेला नगरसभा देखि पार्टी राजनितिमा समेत चन्द्रागिरि नगरपालिको वडा नम्बर ७ का वडा अध्यक्ष केसीको प्राय चर्चा हुने गर्दछ । उनी जनताको सेवा गर्न पाउनु नै भाग्यको कर्म र धर्म सोच्छन् । केही राम्रा कामको सुरुवात गर्दे आफ्नो कार्यकाललाई स्वर्ण अक्षरमा लेख्न उनि प्रयासरत छन् ।
उनै वडा अध्यक्ष केसीसँग कोरोना महामारी रोकथाम र सावधानी, वडाको विकास, नितिगत व्यवस्था, भावी योजनाका सन्दर्भमा केन्द्रित रहेर ताजबहसले गरेको विशेष कुराकानी :

वडा अध्यक्ष भएर आउँदा कुन सोच लिएर आउनुभएको थियो ? अहिले त्यही सोच अनुरुप काम भईरहेको छ त ?
धेरै लामो समय सम्म स्थानीय चुनाव भएको थिएन । सुरु सुरुमा त केही गाह्रो भयो । जनताहरु भन्नुहुन्छ प्रतिफल चाँडै चाहिन्छ । हुन पनि हो जनता चाँडै विकास भएको हेर्न चाहन्छन । म पनि अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने भन्ने सोचका साथ काम अघि बढाईरहेको छु । यहाँ विकास निर्माणका काम सबै अलपत्र थिए । सबैतिर उकुसमुुकुस भएको अवस्था थियो । तर जुन मेहनत र सक्रियताले जे काम भईरहेको छ । यो तीन बर्षको समयमा धेरै परिवर्तन भएको छ ।

चन्द्रागिरी वडा ७ मा के कस्ता विकास निर्माण गर्नुभयो ?
सर्वप्रथम त म चन्द्रागिरी नगरको समग्ररुपमा कुरा गर्न चाहान्छु । अहिले स्थानीय सरकार आईसकेपछि चन्द्रागिरी नगरपालिकाको मुहार नै फेरिएकोे छ । यसै नगर अन्र्तगत वडा ७ को विकास निर्माणको कुरा गर्नुपर्दा वडामा देखिएका हरेक समस्यालाई समाधान गर्ने प्रयत्न गरेको छु । यस भेगका जनतालाई खानेपानी र बाटोघाटो व्यस्थित निर्माण पहिलो प्राथमिकका साथ निर्माण कार्य अगाडी बढाएका छौं । शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायत विभिन्न जतिपनि समस्या र चुनौतीहरुसँग सामना गर्दै समग्र चन्द्रागिरी नगरको विकास निर्माण र सेवालाई अघि बढाईरहेको छौं । पार्टीको निर्देशन र आफ्नो स्वविवेकअनुसार काम गरिरहेको छु ।

अन्य के छन् योजना ?
म अनलाईन प्रणालीमा वडालाई लैजादैछु । अब वडाको आफ्नै भवनपनि शानदार बन्ने छ । अपाङगमैत्री बन्छ । सुविधासम्पन्न भवनमा सवै किसिमका सेवा सहज र सरल बनाउने दृढता मसंग छ । पैसा तिर्नको लागि पनि म सहज बनाउँदै छु । अब भौचर लिएर आए हुने बनाउछु । त्यसपछि वडामा पैसाको झन्झट सकिन्छ । त्यसपछि मेरो वडाको आफ्नै भवनपश्चात पुरै अनलाईनमैत्री वडा बनाउनुछ । जबकी तपाईले आफ्नो बिहे दर्तासमेत घरमै बसेर गर्नसक्नु हुनेछ । मेरो वडालाई म नमुना बनाएरै छाड्छु । मेरो यो अठोट भयो ।

कोरोना महामारी नियन्त्रणका लागि मुलुकले अपनाइरहेको नीति कत्तिको प्रभावकारी रहेको छ ?
यसमा यो नै सत्य हो, यो नै ठीक हो भन्ने हुँदैन । हरेक कुराको आफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ । जनता आफैँ, सुशुचित हुने, आफैँ सतर्क हुने, सामाजिक दुरी कायम गर्ने, हात धुनेलगायतका स्वास्थ्य र सरसफाइका नियमहरु पालना गर्ने गरेमा यसै पनि यो रोग नियन्त्रणमा रहन्छ । अहिले आम मानिसहरु बाहिर जान रुची देखाउने र घरभित्र चाहिँ गैरजिम्मेवार किसिमको व्यवहार गर्दै, झुण्डमा बसेको, खाएको, खेलेको, जिस्किएको देखिएको छ । यो वर्तमान महामारीको परिस्थितिमा गलत हो । कसैलाई रोग भएको रहेछ भने भित्रभित्रै रोग संक्रमण भएर उग्ररुप लिनसक्छ ।
सरकारी तवरबाट रोग नियन्त्रणका लागि चाल्नुपर्ने कदम, परीक्षण र उपचारका लागि व्यवस्था आदिमा शुरुमा केही ढिलाइ भएको थियो तर पछिल्लो समयमा सरकारी तयारीले गति लिएकोे छ । तरपनि यसरी नै मानिसहरु अटेर गरेर सावधानी नअपनाउने हो भने कोरोनाले विकराल रुप लिने देखिन्छ ।

महामारीको संक्रमण पछिको लकडाउनले मुलुकको समग्र क्षेत्र प्रभावित भएको देखिएको छ, यसको प्रभाव न्युन गर्न के कस्ता कदम चाल्नुपर्दछ ?
लकडाउनले नेपाल मात्र होइन संसारलाई नै खत्तम पारेको छ । मेरो विचारमा चाहिँ संक्रमणको भौगालिक हिसाबले छुट्ट्याएर लकडाउन गर्ने र त्यहीँभित्र परीक्षणका कार्यहरु गर्ने, विभिन्न भौगोलिक क्षेत्रमा स्थिति हेरेर सामाजिक दुरी कायम गर्ने सर्तमा मानिसको गतिविधि खुकुलो गर्ने, परीक्षण कार्य पनि घरघरमा गएर गर्न सकिन्छ कि भन्ने बारेमा छलफल र तयारी गर्ने, महामारीका बिरामीलाई निश्चित अस्पतालमा उपचारको व्यवस्था गरी अन्य अस्पतालमा अरु बिरामीको उपचार शुरु गर्ने, साथै अस्पताल र क्वारेन्टाइनहरुको स्तर र क्षमता बृद्धि गर्नेजस्ता कार्यहरु पनि गर्न सकिन्छ । क्वारेन्टाइनहरुमा सरसफाइ र सामाजिक दुरी कायम गर्ने कार्य प्रभावकारी नभएका कारण त्यहीँ नै रोग संक्रमण भईरहेको छ । छिमेकी देशका औपचारिक नाका बन्द भए पनि अन्य ठाउँबाट लुकीछिपी आइरहेको भन्ने सुनिएको छ, यसलाई कडाइ गर्नुपर्छ ।

अन्त्यमा ?
कोरोना भाईरस रोकथाम र सावधानीका लागि चन्द्रागिरी नगरपालिका सबै वडाले सक्दो प्रयास गरेका छन् । विभिन्न कोरोना सावधानी जनचेतनामुलक कार्यक्रम र राहात वितरण कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । सबै आम जनतालाई कोरोनादेखि सावधानी अपनाई सुरक्षितरुपमा बसिदिनुहुन अनुरोध गर्दछु ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.