banner

अन्तर्वार्ता

नागरिकको सुरक्षा र विकास निर्माणमा प्रतिबद्ध छु

छत्र लामा
अध्यक्ष,
किस्पाङ गाउँपालिका, नुवाकोट


नुवाकोटको किस्पाङ गाउँपालिकामा कोरोना रोकथाम तथा न्युनीकरण गर्नको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । कोरोना भाईरसबाट बच्न सुरक्षाको उपायहरु अवलम्वन गर्न र स्वास्थ्य सम्बन्धी कुनै समस्या भए नजिकैको स्वास्थ्य संस्था जान वा गाउँपालिकामा सम्पर्क गर्ने व्यवस्था गरेको छ । किस्पाङ गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको प्रयास र समग्र विकास निर्माण तथा योजनाको विषयमा गाउँपालिकाका अध्यक्ष छत्र लामासँग ताजा बहसले गरेको कुराकानी :

दिनहरु कसरी बितिरहेका छन् आज भोलि ?
किस्पाङ गाउँपालिकामा अत्यावश्यक सेवा भन्दा बाहेक अरु ठप्प छ । आर्थिक वर्षको सुरुवात पनि भएर अघिल्लो वर्षका योजनाहरु सकिएका छन् । नयाँ योजनाहरुको सुरुवात भएको छैन ।
कोरोनाको कारण सवारी आगमन, बाटोहरु सबै बन्दाबन्दी जस्तै छन् । किस्पाङ पनि बन्द छ । त्यसकारण अहिले कामको चाप कम नै छ । अब नीति नियम बनाउने कुराहरु, निर्णय गर्ने कुराहरु, फोन सम्पर्क गर्ने कुराहरु त छ, लगातार जस्तो कार्यालय गइन्छ । अरु त्यस्तो धेरै बाहिर जाने, सभा ,गोष्ठी, सम्मेलन बैठक, फिल्डमा काम त्यति छैन । त्यसकारण आजकल दिनहरु खुकुलो छ ।

अहिले कोरोना कारण विश्व आक्रन्त भईरहेको छ । कोरोना रोकथाम तथा न्युनीकरणको लागि पालिकाले के कस्ता कार्यहरु गरिरहेको छ ?
गत आर्थिक वर्ष चैत्र ११ गते देखि कोरोना भाइरसको महामारी नेपालमा पनि सुरु भएपछि देश लकडाउनमा गयो । लकडाउनमा गइसकेपछि हामी कोरोना विरुद्घ लड्नु पर्ने आधारभुत आवश्यकताहरु परिपुर्ति गरेर हाम्रो क्षेत्रमा, स्थानिय तहमा कसरी हामी यो कोरोना महामारीसँग लड्ने भन्ने पुर्व तयारीमा जुट्यौँ ।
दैनिक मजदुरी गरेर खाने, दैनिक ज्याला गरेर खानेहरुको घरमा चुलो नबल्ने अवस्थामा हामीले के गर्न सक्छौ भन्ने हिसाबले राहतका कार्यक्रमहरु पनि सञ्चालन गर्यौ । बिस्तारै गाउँपालिकामा कोरोना संक्रमण देखिन थाल्यो ।
जो कोरोना पोजिटिभ आयो उहाँहरुलाई दोस्रो पटक पीसिआर गराएर कारोना मुक्त भएपछि घर पठाएका छौं । कोरोनाले मानिसलाई त्रास फैलाएको छ । बाहिर निस्कन नसक्ने, भेटघाट गर्न नसकिने जुन एउटा त्रास छ । हामी सम्पूर्ण टिम अहिल कोरोनाको विरुद्ध कसरी हामी सुरक्षित रहन सक्छौ भन्ने पूर्ण ध्यान त्यतातिर छ ।

कोरोना हिजो भन्दा आज झनै बढ्दै छ, अहिलेको अवस्थामा गाउँपालिकाले आफनो नागरिक बचाउनको लागि के कस्तो तयारी गरेको छ ?
हामी तयारी अवस्थामा छौं, जति वटा स्वास्थ्य संस्था छन् । त्यहाँका कर्मचारीहरुलाई बिदा बस्न दिएका छैनौँ । जुनसुकै बेला अर्लट हुनुहोस् भनेका छौँ । त्यो हाम्रो ब्याक सपोर्ट मात्र हो । कोरोना भइसकेपछि हाम्रा स्वास्थ्य केन्द्र, हाम्रा स्वास्थ्य प्राविधिकहरुले निवारण गर्न सक्नु हुन्छ भन्ने हिसाबले होइन हाम्रो अलिकति आधार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु छन् भनेपछि हाम्रो मनोबल पनि बढ्ने रहेछ । हामीसँग आइशोलेसन बेडहरु छन् । यदि संक्रमण भयावह अवस्था आयो भने हामीले उहाँहरुलाइ कहाँ कसरी सुरक्षित राख्न सकिन्छ भन्ने हिसाबले पूर्व तयारी छ । अब हामीले थेग्न नसक्ने भयो भने हाम्रो नजिकै हामीसँग जोडिएको जिल्ला अस्पताल पनि भएको भएर त्यहाँ पनि हाम्रो कोर्डीनेशन छ । त्यस्तो अवस्थामा त्यहाँको प्राविधिकहरुलाइ पनि ल्याउन सक्ने अवस्था छ । अब समुदायमै कोरोना फैलिएको अवस्थामा पनि आधारभुत कुराहरुको तयारी गरेर पूर्व तयारीमा छौँ । यो मानव समुदायमा जुन खालको त्रास फैलिएको छ । त्यसैअनुरुप कारोना संक्रमण बढ्यो भने गाउँपालिकाले पूर्व तयारी गरेको छ ।
हाम्रो सम्पूर्ण टिमको ध्यान कोरोना भाईरस विरुद्धमा नै लागि परेका छौं । अहिले त विश्वमा निको भएर घर फर्कनेको संख्या पनि धेरै छ । हामीले कोराना भाईरस जित्न सक्छौं भन्ने कुरा नागरिकलाई सजग गराउँछौं । यो सबै श्रोत र साधन प्रयोग गरेर भए पनि त्यस्तो अवस्था आउन दिने छैनौं, हाम्रो पूर्व तयारी छ ।

काम नहँुदा ज्यालादारी मजदुरी गर्नेहरुलाई समस्या होला । गाउँपालिका भित्रका नागरिकहरुको चुल्हो निभेको अवस्था छ की छैन ?
त्यस्तो अवस्था छैन । किस्पाङ गाउँपालिकामा धेरै मजदुरहरु दैनिक ज्याला गरेर खाने भन्दा किसानहरु धेरै छन् ।
जस्तो हाम्रो खेतिपातिको समयमा खेतिपाति लगाएका छन् । कामकाजहरु चलिरहेका छन् । सुरक्षित भएर काम गरिरहेका छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरु धेरै नहुनुभएको भएर खानाकै लागि चुलो बस्यो भन्ने अवस्था छैन ।
किस्पाङ गाउँपालिकामा त्यति ठूलो बजार, कलकारखाना, उद्योग धन्दा छैन । हाम्रो ९८ प्रतिशत सबै कृषिमा आधारित भएको भएर कृषि काम रोकिएको छैन । खानाको लागि समस्या छैन, जग्गा जमिन खेतिपाति गर्न रोकिएको छैन । आम कुराहरु अहिले तत्काल रुपमा देखिएकाले मल आपुर्ति गर्न नसक्नु केहि बाधाहरु त छन् । काम नपाएर हात बाधेर बसेर खान नपाएको अवस्थामा छैन ।

किस्पाङ गाउँपालिकाको विकासलाई कोरोना भाईरसले कत्तिको असर पु-यायो ?
किस्पाङ गाउँपालिका विकास निमार्णको काममा जुन रफ्तारमा अगाडि लम्किएको थियो यो कारोनापछि धेरै नै पछाडि परेको महशुस गरेको छु ।
कोरोना भाइरसको कारण वैदेशिक रोजगारमा रहेकादेखि शहर बजारमा रहेका नागरिकहरु गाउँमा फर्किएको अवस्था छ । पालिकाले सबै जनताहरुको सुझावलाई अंगालेर अगाडी बढेको छ । त्यहि अनुसार नै गाउँपालिकाले विभिन्न खाले योजनाहरु ल्याएको छ तर सबै योजनाहरु तत्काल सम्पन्न गर्न सकिदैन, विस्तारै कार्यन्वयनमा लाने योजना बनाएका छौं ।

किस्पाङ गाउँपालिकालाई राम्रो विकास निमार्ण गर्ने पालिकाको रुपमा चिनिन्छ । तपाई गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, अहिले सम्मको विकासको गति कस्तो पाउनु भएको छ ?
विभिन्न प्राकृतिक प्रकोपहरु, कोभिड पनि प्राकृतिक प्रकोप नै हो, त्यसपछि बाढि पहिरोहरु बर्षा मासमा भईरहन्छ । अनि लकडाउनको कारणले काम अगाडि बढ्न नसकेको अवस्था हो । त्यो भन्दा बाहेक किस्पाङ गाउँपालिकामा विकास निमार्ण गर्ने काममा जुन रफ्तार थियो अब त्यो घट्दैन ।
स्थानीय तहहरुले संविधानलाई टेकेर योजना कार्यान्वयन गर्ने हो । असारमा बजेट सार्वजनिक गरेर साउन महिना भरिमा खरिदका योजनाहरु तयार पार्नुपर्छ । कानुन अनुसार खरिद योजना तयार पारिसकेपछि सम्वन्धित कर्मचारीहरलाई अभिमुखिकरण गराएर राख्नुपर्छ । यो विषय अन्य स्थानीय तहमा भएको छ या छैन जानकारी छैन तर हाम्रो स्थानीय तहले खरिद योजनाहरु तयार पारेर प्राविधिकलाई तयार पारिसकेका छौँ । हामीले ल्याएको योजना कुन ठेक्का प्रणालीबाट गर्ने, कुन उपभोक्ता समितिबाट गर्ने त्यसलाई हामीले विभाजन गरिसकेका छौँ । दुवै प्रणालीबाट कार्यान्वयन गरिने योजनाहरुको प्रक्रिया अघि बढिसकेको छ ।

अन्त्यमा ?
सम्पूर्ण किस्पाङबासीहरुलाई धन्यवाद दिन चाहान्छु । नागरिकको माग बमोजिम नै हामीले बजेट ल्याएका छौँ । हामीसँग सिमित श्रोतसाधन छ । गाउँपालिकाभरिका सबै नागरिकहरुहरुले चाहेको जस्तो योजनाहरु ल्याउन सकेका छैनौँ । सबैले पूर्ण रुपमा लाभ लिन सक्नुहुन्न । तर पनि त्यसलाई हामी आगामी वर्षहरुमा संवोधन गर्दै जाने छौँ । हामीले बजेट र कार्याक्रम बनाएका छौँअहिलेको अप्ठ्यारो परिस्थितिमा हामी आफु बाँच्न र अरुलाई बचाउन लागि लागिपरेका छौं । यो विपत्ति सगँ जुध्नको लागि सबै जना आफु सुरक्षित रहौँ र सबैलाई सुरक्षित बनाऔँ भन्न चाहन्छु ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.